काठमाडौँ । प्रतिनिधि सभा विघटन विरुद्धको मुद्धामा सुनुवाई शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा शुक्रबार पुनः मुद्धामा बहस शुरु भएको हो । यसअघि बुधबार भएको सुनुवाई समयअभावका कारण हेर्दाहेर्दैमा राखिएको थियो ।
बुधबारको सुनुवाईमा रिट निवेदकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, दिनेश त्रिपाठी, शम्भु थापा, हरिहर दाहाल, चन्द्रकान्ता ज्ञवाली लगायतले संसद विघटनको मुद्धा बृहत पुर्ण इजलासबाट सुनुवाई हुनुपर्ने माग राखेका थिए । तर, महान्यायाधिवक्ता अग्नी खरेल लगायत सरकार पक्षबाट बहस गर्ने अधिवक्ताहरुले त्यसमा असहमती जनाएका थिए ।
अहिले सरकारको पक्षबाट वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले बहस गर्दैछन् ।
प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदक ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए।
रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको थियो ।
न्यायाधीश कार्की केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा महान्यायाधिवक्ता भएको हुँदा अहिलेको विवादमा न्याय निरुपण गर्ने विषयबारे इजलासमा प्रश्न उठेपछि उनले इजलासमा नबस्ने घोषणा गरेका थिए। उनको ठाउँमा सपना मल्ल प्रधानको प्रवेश भएको छ ।