पोखरा ८, भदौ । पोखरा महानगरपालिकामा तीव्र गतिमा फैलिएको कोरोना रोकथाम गर्न महानगरले निषेधाज्ञा विकल्प देख्यो ।
पहिलोपटक निषेधाज्ञा कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय कास्कीलाई अनुरोध लेखी पठायो ।
५ दिन आह्वान गरिएको उक्त निषेधाज्ञा आइतबारमात्र सकिँदै थियो । पुनः महानगरको सिफारिसमा जिल्ला संकट व्यवस्थापन केन्द्र कास्कीले भदौ १२ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गर्यो ।
निषेधाज्ञाका कारण मानिसहरु घरभित्रै बस्न बाध्य भएका छन् । सवारी गुडेका छैनन् । निर्माण तथा बैंक वित्तीय संस्थाहरुलाई केही सहज बनाउने भनिएपनि पूर्ववत् रुपमा सञ्चालनमा कठिनाई छ ।
प्रदेश राजधानीमै बसेर पोखराको निषेधाज्ञा हेरिरहेका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले भने असन्तुष्टि जाहेर गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले निषेधाज्ञाको विरोधको संकेत गरेका हुन् । उनले लेखेका छन्, ‘हाँगामा बसेर रुखको फेद काट्ने र निषेधाज्ञा जारी गरेर कोरोनाबाट बँच्न खोज्नेहरु एकै हुन् ।’
थोरै शब्द खर्चिएका मन्त्री गुरुङको स्टाटस भावले पोखरा यतिबेला तरगिंत जस्तै बनेको छ ।
कतिपयले काेराेना नियन्त्रणकाे विकल्प निषेधाज्ञा वा लकडाउन नरहेकाे भन्दै मन्त्री गुरुङकाे अभिव्यक्तिलाई बचाउ गरिरहेका छन् भने कतिपयले सरकारले स्वास्थ्य पूर्वाधारकाे जाेहाे गर्न नसक्दा त्याे बाहेककाे विकल्प नदेखेकाे भन्दै आलाेचना गरेका छन् ।