काठमाडौँ । प्रधानमन्त्रीले राष्ट्रपतिमार्फत गरेको संसद विघटन विरुद्ध आज प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशव्यापी प्रदर्शन गर्दैैछ । प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक कदमविरुद्ध आज देशका सबै स्थानीय तहमा काँग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।
शुत्रबार नै सभापती देउवाले सरकारको कदम विरुद्धको प्रदर्शनमा सहभागी हुनका लागि कार्यकर्ताहरुलाई आह्वान गरिसकेका छन् । आजको विरोध प्रदर्शन देशका ७५३ वटै गाउँपालिका÷नगरपालिकामा हुने छ । काँग्रेसले सर्वोच्च अदालतसम्म आवाज पुग्ने गरी सारा जनताले डटेर विरोध गर्नुपर्ने बताएको छ ।
पालिका÷नगरस्तरमा हुने विरोध सभामा नेपाली काँग्रेसका शीर्ष नेताहरु पनि उपस्थित हुनेछन् । विभिन्न स्थानीय तहमा भएको विरोध प्रदर्शनलाई काँग्रेसका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
सभापति देउवाले काठमाडौं, वरिष्ठ नेता पौडेले चितवनको शारदानगरमा विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै महामन्त्री डा. शशांक कोइरालाले नवलपुरको देवचुली नगरपालिकामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पूर्वमहामन्त्री प्रकाशमानसिह काठमाडौँ महानगरपालिका र नेता गगन थापाले बूढानीलकण्ठको हात्तीगौंडा र ललितपुरको महाकाल गाउँपालिकामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै नेता डा मिनेन्द्र रिजाललाई नेपालगञ्ज र डा. शेखर कोइरालाले मोरङका दुई वटा विरोधसभामा सम्बोधन गर्ने कार्यतालिका छ ।
नेता प्रदीप पौडेल विराटनगर र प्रवक्ता विश्वप्रकाश शर्मा भक्तपुरमा हुने विरोधसभालाई सम्बोधन गर्ने छन् । यस्तै नेता अर्जुननरसिंह केसी र डा। रामशरण महतले नुवाकोटको देवीघाटम हुने विरोधसभा सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै सहमहामन्त्री प्रकाशरण महतले कागेश्वरी मनोहरा नगरपालिकाको वीरेन्द्रचोक र गोठाटारको विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । नेता धनराज गुरुङ्ग चितवनको खैरेहनीमा र प्रकाश रसाइली स्नेही हेटौडाको विरोसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै नेता गुरुराज घिमिरे र नैनसिह महर काभ्रे जाने कार्यक्रम तय भएको छ । नेता वीरबहादुर बलायरले डोटीमा र जीवन बहादुर शाहीले मुगुको रुसकोट, माँझचौर, खत्याडको विरोधसभालाई सम्बोधन गर्ने छन् । यस्तै काँग्रेसका केन्द्रीय अधिकांश नेताहरुले पनि गृहजिल्लाको विरोधसभामा सहभागी हुँदै छन् ।