पोखरा, १४ चैत ०७५ (अर्काइभ)
गोपाल श्रेष्ठले पहिल्याएको लक्ष्य सार्थक बन्यो भने उनको परिचय नाममा मात्रै सिमित रहनेवाला छैन् ।
उनी आउँदो अप्रिलमा सगरमाथा चढ्दै छन् ।
त्यो पनि । पहिलो पटकको असफल प्रयास पछि । दोस्रो अभियान स्वरुप ।
पोखरा निवासी गोपाल विगत २५ वर्षदेखि एचआइभी संक्रमित छन् । पूर्व राष्ट्रिय ए डिभिजन फुटबल खेलाडीको परिचय सान साथ बताउने गोपाल पूर्व लागु औषध प्रयोगकर्ता समेत हुन् ।
हत्तपत्ति खुल्न नचाहने एचआइभी संक्रमितहरुको भीडमा गोपालको परिचय झनै फराकिलो छ । उनी सहज रुपमा आफूलाई उपस्थित गराउन सफल रहे । जुन कुरा आफू एचआइभी संक्रमित भएको २५ वर्ष अघिदेखि जानकार छन् ।
समयचक्रमा परिस्थिति गुजारें । नियती भोगें । र निरन्तर साहस जुटाउने प्रयत्न गरें । आफूहरु जस्तैका लागि । उनको भनाइमा थप्दा राष्ट्रलाई चिनाउन पनि । अनि जन्मियो विश्व शिखर सगरमाथाको टेक्ने लक्ष्य ।
अँध्यारो पाटो
स्कुले केटो जो अलिअलि फुटबल खेल्थ्यो । सामान्य लिगका खेलहरुमा सहभागि भएपछि प्रशिक्षकको नजरमा परेको त्यहीँ स्कुले केटो पछि राष्ट्रिय खेलाडी समेत भयो ।
विभिन्न क्लबहरुमा अनुबन्धित भई खेल्ने धोको पूरा गर्यो ।
खेलले सफलताको चुली टेकाउँदै गर्दा लागु औषध भनिने कालो पदार्थले त्यहीँ १७ वर्षे केटो गोपालमाथि शिकार खेल्न सुरु ग¥यो । सन्दर्भ हो ०३५ साल ताका ।
त्यससमय सायद उनलाई कालो पदार्थले ज्यान लिन्छ बाबु भनेर सम्झाइदिने कोही भएको भए ।
‘टाढै बस्थें’
उनी भन्छन्, ‘बाल्यकाल स्वर्णीम बित्यो । पारिवारिक संगोलमा हुर्केको म राम्रै विद्यालयमा पढिरहेको पनि थिए । तर,’
तर के ?
उनी भन्छन्, ‘त्यहीँ कालो पदार्थको संगत छुटाउन मलाई घरकै प्रेसरमा साउदी धपाइए ।’
केही वर्षको विदेश थमौतीले दुव्र्यसनीबाट टाढा त बनायो तर लत छुटेन ।
गोजीमा दाम र दुव्र्यसनीको जुनून । धक फुक्यो । लागुऔषध त्यो कालो पदार्थले फेरी गोपाललाई साथ दिन थाल्यो ।
लाग्छ । समय त्यस्तै थियो । फुसर्द नै फुसर्द । केही सयम विदेशमै बसेर कमाएको पैसा सक्कियो र फेरी योजना बन्यो विदेशको ।
रगत परीक्षण गर्न जाँदा डाक्टरले रिपोर्ट पढिदिए ‘तपाईलाई त एड्स लागेको छ’
उनी सम्झन्छन्, ‘एचआइभी नि भनेनन् एड्स लागेको छ, तिमी २/३ महिना भन्दा बढी बाच्दैनौं । म ब्ल्याक आउट भए ।’
‘मृत्यु सम्झदा त गाह्रो हुन्छ नि होइन र ?’ उनी प्रश्न गर्छन् ।
मृत्युलाई सहज बनाउने सरल विकल्प रोजे । जुन उनको नसानसामा टिनेजरदेखि नै शासन जमाएर बसेको लागु औषध ।
त्यसपछिका गोपालका दिन झनै कहालीलाग्दा र भयवित भए । परिवारमाथि निरन्तर इमोस्नल ब्ल्याकमेलिङ गर्नु । ‘मर्दैछु मलाई नसा खान पैसा देउ’ भन्नु, कराउनु उनको नियती बन्यो ।
उनले नियतीलाई खुलेआम निम्तो दिइरहेका थिए वा नियतीलाई उनको साथ थियो । गोपाल भन्छन्,
‘त्यसो भन्दाभन्दै नौ वर्ष बितिसकेछ मैले एचआइभी लागेको पत्तो पाएपछि लागु औषधको प्रयोग गर्न थालेको ।’
उनी थप्छन्, ‘आमा, श्रीमती, दाजुभाई, इष्टमित्र मदेखि हुक्क’
झण्डैं दशक पछि महशुस भयो । मलाई एचआइभीले होइन लागु औषधले चाहीँ पक्का ज्यान लिन्छ ।
परिवारलाई थप दुःखमा देख्न सक्दिन भन्ने कुराको हेक्का भयो जब । गोपालले प्रण गरे कालो पदार्थ छुँदै छुँदिन ।
अँध्यारोदेखि उज्यालोतर्फ
लागु पदार्थ उनको समस्या थियो । समस्या चिनें । रिहाविलिटेसन सेन्टर धाए । उपचार सहज थिएन ।
‘नेभर गिभ अप’
‘मैले छोड्नै पर्छ भन्ने दृढताले काम गर्यो,’ उनी भन्छन्, ‘सार्थकतामा बद्लियो मेरो जीवनले लागु पदार्थबाट उन्मुक्ति पायो ।’
उनको स्टाटस बद्लिसकेको थियो । लागु औषध प्रयोगकर्ताबाट ‘पूर्व’ त भए तर एचआइभी संक्रमित बनिनु आफैंका लागि हिनताबोध र समाजका लागि मात्र अर्घेलो ।
घरपरिवारले ‘बाहिर नजा’ भन्नु । समाजले गर्ने विभेद पूर्ण व्यवहार जुन उनले आफ्नै अगाडि पटकपटक सामना गर्नुपर्याे ।
‘केही समय त सहेकै हो । हद भो । अब बाहिर आउनु पर्छ । हाम्रो पनि समाजमा योगदान छ । गर्न सकिन्छ । सोच्न थाले,’ उनले विगत कोट्याउँदै सुनाए, ‘हो । लागु औषधको बारेमा जानकारी भएन । एचआइभी संक्रमित भइयो । त्यसैबारे पनि ज्ञान भएन फेरी लागु औषधको सहारा लिन पुगे । अनि सबै बुझ्दै गए र लाग्यो सब बेकार रहेछ किन पहिल्यै किन बुझेनछु ।’
आफूले आफैंलाई प्रमाणित गर्नु छ भन्ने गोपाललाई लाग्यो र सन् २००३ मा सार्वजनिक गरे । ‘नमस्कार म गोपाल श्रेष्ठ । एचआइभी संक्रमित । पूर्व लागु औषध प्रयोगकर्ता’
नयाँ यात्रा थालियो । आफूले भोगेका ति तिता यथार्थबारे जानकारी दिएर अरुलाई त्यस दलदलमा फस्न नदिने ।
विभिन्न फोरमहरु तयार थिए जहाँ गोपाल आफ्ना मनका बह पोख्न सकूनँ । उनले त्यस्ता कैंयन् ठाउँ भेटे । जहाँ उनका कुरा सुनिए ।
तर, आम सोंच परिवर्तन उनको वंशको कुरा थिएन । एचआइभी संक्रमितलाई राखिने सिमितताको घेरा अति साँघुरो लाग्दै गएपछि गोपाल स्वतन्त्र विचरण गर्ने पक्षमा उभिए ।
एचआइभी संक्रमितहरु शारीरिक र मानसिक रुपले कमजोर हुँदा रहेनछन् भन्ने सावित गर्न उनले साहसको कदम चाल्ने निर्णय गरे । अनन्तः अठोट बन्यो सगरमाथा चढ्ने ।
चुली टेक्ने अठोट
‘मैले दिन सक्ने भनेकै राष्ट्रका लागि नाम हो । पहिचान हो । जीवनमा मैले धेरै काम त गर्न नसकौंला तर एचआइभी संक्रमितहरुप्रति हेर्ने दृष्टिकोण, गरिने व्यवहारहरु जरुर परिवर्तन गर्ने छु,’ उनी थप्छन्, ‘अन्य मानिस सरह हामी पनि शारीरिक रुपले स्वस्थ्य छौं पूर्ण आत्मविश्वास छ ।’
गोपाल सन् २०१५ मा विश्वभरी रहेका सम्पूर्ण एचआइभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै नेपालबाट सगरमाथा चढ्न गए ।
उनलाई स्टेप अफ क्यापियनले साथ दियो । जसमा धेरै व्यक्तिले उनलाई आर्थिक सहायतादेखि मनोबल बढाउने काम गरे ।
त्यसैबखत, त्रासदी प्रलयको सामना गर्नु पर्यो । आधार शिविरमा हुँदा ०७२ बैशाख १२ गतेको महाभूकम्पले हिमआँधी ल्यायो । १७ जनाको संगोलमा गएको टिममा ५ जना साथीको घटनास्थलमै मृत्यु भयो । आधार शिविरमा घाइते भएका गोपालको तुरुन्तै हेली उद्धार भयो र उनी बाँच्न सफल भए ।
अछुतो रहन नसकेको एभरेष्ट बेसक्याम्पमा आएको हिमआँधीले गोपाल मात्रै नभई विश्वमा भएका लाखौं एचआइभी संक्रमितहरुको मनोबल गिरायो ।
उनी भन्छन्, ‘फिजिकल्ली रिकभर हुन ५ महिना लाग्यो होला तर मेन्टल्ली प्रि पियर बन्न वर्षदिन लाग्यो ।’
लगत्तै, सन् २०१६ मा दोलखा जिल्लामा अवस्थित ६ हजार ८ सय मिटर उचाईको ‘भर्जिन पिक’ सफल आरोहण गरे । आत्मबल बढायो ।
यसअघि पनि उनले केही हिमालहरुको सफल आरोह गरे ।
–सन् २०१३ अक्टोबर, मुस्ताङ र मनाङबीच पर्ने नाका थोराङला पास जसलाई वल्र्ड हाई पास नामले परिचित छ । जसको उचाई ५ हजार ४ सय १७ मिटर छ ।
–सन् २०१४ फ्रेबुअरी १०, सोलुखुम्बुको ६ हजार १ सय ८० मिटर उचाईको ‘आइसल्याण्ड पिक’
अनुभव र सहयोगीहरुको साथले सन् २०१९ मा समेत पोखराबाटै स्टेप अप क्यापियन सेकेन्ड फेजले निरन्तरता पायो ।
दृढ संकल्प पूरा गराउन उनी सहित उनको परिवार र अभियन्ता बनेर होस्टेमा हैंसे गर्न तयार भए ।
३० लाखसम्म खर्च लाग्ने अनुमान गरिएको सगरमाथा आरोहका लागि उनले सम्पूर्ण तयारी पूरा गरेका छन् । परिवार र संघसंस्थाको आर्थिक जुगाडमा अभियानलाई पुनः निरन्तरता दिएको गोपाल बताउँछन् ।
चैत १४ गते पोखरा निवासबाट उनी झोला बोकेर काठमाडौं लाग्दैँ छन् । उनी सहितको टोलीमा एजेन्सीले विभिन्न देशहरुबाट सगरमाथाको चुलीमा पुग्ने अन्य अनुहारहरुलाई समेट्दै छ ।
फरक लक्ष्य बोकेर चुली टेक्ने त्यो अदम्य साहस राख्ने गोपाल मात्र जो एक छन् । जसले एचआइभी संक्रमितहरु शारीरिक र मानसिक रुपमा सबल छन् भन्ने सन्देश विश्वलाई दिन चाहन्छन् ।