काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको बिषयमा छलफल गर्नका लागि राजनीतिक दलहरुलाई बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा दलहरुसँग छलफल गर्न लागिएको जानकारी दिएका छन् ।
संसद विघटन सँगै निर्वाचन घोषणा भएपछि आयोग निर्वाचनको तयारीमा लागेको छ । सोही बारेमा छलफल गर्नका लागि आयोगले नेकपाका दुबै समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, नेकपा (माले), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी र नेपाल परिवार दललाई पत्र पठाएर निर्वाचन हेर्ने दुई–दुई जना प्रतिनिधि पठाइदिन भनेको छ ।
नेकपाकै प्रचण्ड–माधव समूहले निर्वाचन प्रकृया अगाडी नबढाउन आयोगको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदममार्फत संसद विघटन गराएको र अदालतबाट संसद पुनस्थापना हुने भन्दै प्रचण्ड र माधव नेपाल आयोगमै पुगेर निर्वाचन प्रकृया रोक्न सुझाएका थिए ।