पोखरा । विभिन्न पार्टी परित्याग गरी पोखरा महानगरपालिका वडा २७ को छत्रेढुंगामा ६२ जना सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस, राप्रपा, समाजवादी लगायत पार्टीमा संलग्न नेता कार्यकर्ता सत्तारुढ (ओली पक्षीय) नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई टिका र फूलमाला लगाउँदै केन्द्रीय सदस्य तथा कास्की क्षेत्र नम्बर एकका निवर्तमान प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले स्वागत गरे ।
मुलुकले अगिंकार गरेको समृद्ध सपनालाई साकार पार्न एकजुट भई अघि बढ्न नेकपामा गोलबद्ध हुनुपर्ने समयको आवश्यकता रहेको नेता अधिकारीले बताए ।
नेकपा वडा २७ का अध्यक्ष सूर्यमणी लामिछानेले टोल र वडाको समग्र विकासमा सबैको एकता अनिवार्य रहेको बताए । स्थानीय निर्वाचनमा कांग्रेसका प्रतिनिधिले जितेको वडा भएपनि विकास निर्माणमा नेकपाले नै अग्रसरता देखाइरहेकोले अझ सशक्त भएर अघि बढ्न बहुसंख्यक नवप्रवेशीको उत्साहले विकासमा फड्को मारिने उनले विश्वास व्यक्त गरे ।