जुम्ला । नेपाल विद्युत प्राधिकरणको जुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । मागअनुसार विद्युत आपुर्ती गर्न नसकेको भन्दै केन्द्रले लोडसेडिङ तालिका सार्वजनिक गरेको हो ।
वितरण केन्द्रले दुई समूहमा विभाजन गरि क्षेत्र छुट्याएको छ । समूह ‘क’ अन्तर्गत टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्र रहेका छन् । सो क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।
त्यस्तै समूह ‘ख’ मा विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्र रहेका छन् । सो समूहमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुने सूचना प्राधिकरण जुम्लाले निकालेको छ ।
प्रकाशित सुचनामा पिक लोडको समयमा वितरण प्रणालीमा पावर अपुग भएमा ग्राहकहरुको लाइनसमेत काटिनसक्ने प्राधिकरणले जनाएको छ ।