काठमाडौँ । भारतमा शनिबार कोरोनाको खोप लगाएका दुई जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएको हो । यद्यपि यी दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार साँझ भारतको उत्तर प्रदेशको मुरादाबादका ४६ वर्षीय स्वास्थ्यकर्मीको निधन भएको थियो । मुरादाबादका प्रमुख मेडिकल अधिकारीले उनको मृत्यु कोरोना खोपसँग भने सम्बन्धित नभएको बताए ।
त्यस्तै शनिबार खोप लिएका कर्नाटकका ४३ वर्षीय अर्का स्वास्थ्यकर्मीको सोमबार मृत्यु भएको छ । उनको मृत्यु पनि हृदयाघातको कारण भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । खोप लिएको दुई दिनपछि उनको मृत्यु भएको भए पनि उनको मृत्युमा कोरोना खोपको कुनै सम्बन्ध नरहेको विशेषज्ञहरुले बताएका छन् ।