काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले सान्त्वना जित निकालेको छ । आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई तीन विकेटले पराजित गरेको हो ।
समूह चरणको अन्तिम खेलमा प्रदेश २ ले दिएको १९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको हो । सुदूरपश्चिमको जितमा सञ्जु दमाईले अर्धशतक बनाए । उनले ३५ बल खेल्दै २ छक्का र ८ चौका प्रहार गर्दै ५७ रन बनाए ।
यसैगरि कप्तान खडक बोहराले ४३ रनको योगदान गरे भने ओपनिङ ब्याट्सम्यानको रुपमा मैदान प्रवेश गरेका गजेन्द्र बोहराले ४७ बलमा ६ चौकाको सहायताले ३९ रन बनाए । त्यस्तै अरुन ऐरि र अर्जुन साउदले क्रमश १९ र ७ रन बनाए ।
बलिङतर्फ प्रदेश २ का कुमार थापाले ३ विकेट लिए । हरिशंकर शाहले २ विकेट लिए भने विवेक यादव र रवि साहले समान एकएक विकेट लिए ।
पहिले ब्याटिङ्ग गरेको प्रदेशले ४२ ओभरमा अल आउट हुँदै १९५ रन बनाएको थियो ।
प्रदेश २ का लागि हरिशंकर शाहले सर्वाधिक ६० रन बनाए । उनले ७३ बलमा ९ चौका प्रहार गरे । त्यस्तै विवेक यादवले ५२ बलमा तीन छक्का प्रहार गर्दै ४१ रन बनाए । यसैगरि मेहवुव आलमले २३ रनको योगदान गर्दा राहुल प्रताप सिंह र कुमार थापाले क्रमशः १२ र ११ रन बनाए । अन्य ब्याट्सम्यानहरु सामान्य रन लिँदै आउट भएका थिए ।
बलिङतर्फ सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले समान तीनतीन विकेट लिए । त्यस्तै अनिल ऐरिले दुई विकेट लिए भने हेमन्त धामी र भोजराज भट्टले समान एकएक विकेट लिए ।