यो दाजुको मिरमिरे आँखा
कस्तो मेरो बिगार्याे दिमाग
नरौँ मायालु….
तीन दशकअघि पाण्डव सुनुवार, पृथ्वीमान गुरुङ, प्रवीन गुरुङ, शान्ती नेपाली र विष्णुमाया गुरुङकाे स्वरमा सार्वजनिक भएको यस गीतले निकै चर्चा पायो । विभिन्न गायकहरुले आफ्नो आफ्नो स्वरमा गीतलाई कभर गरे र थप चर्चित बनाए । पछिल्लो समय प्रविन गुरुङ र विमा कुमारी दुराले पनि यही गीतलाई आफ्नो स्वर दिए । यी र यस्ता थुप्रै कालजयी गीतका सर्जक धनबहादुर गायकको सोमबार निधन भएको छ ।
‘नरौ मायालु’, ‘बेली र चमेली’ लगायत थुप्रै चर्चित गीतका सर्जक धनबहादुर गायक भने आझेलमा परिरहे । नेपाली मौलिक लोक सांस्कृतिका धरोहर धनबहादुर गायकको सोमबार निधन भएसँगै नेपाली लोक सांगितिक क्षेत्रमा अतुलनीय क्षति पुगेको छ ।
उच्च रक्तचापका कारण ५९ बर्षीय धनबहादुरलाई शनिबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो । मणिपालमा उपचारको क्रममा गायकले अन्तिम श्वास फेरे ।
लोक संस्कृतीलाई विश्वसामु चिनाउन अनवरत लागिरहेका धनबहादुर ११ बर्षको उमेरदेखि नै लोक गायन क्षेत्रमा लागेका थिए । वि.स. २०२१ मा पोखराको बाटुलेचौरमा जन्मिएका धनबहादुर पछिल्लो समय सारङ्गी र गन्धर्व संस्कृतीलाई जोगाउन लागि परेका थिए ।
“लोक संस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छ” भन्नेमा विश्वास गर्ने धनबहादुर चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा समेत हुन् । गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बनेका थिए ।
जनकवि केशरी धर्मराज थापा, झलकमान गन्धर्व, मुक्तिनाथ पण्डित, सोमनाथ प्यासी, कृष्ण थापा, लगायतका महान् हस्तीहरुको प्रेरणाले सांगितिक क्षेत्रमा प्रवेश गरेका धर्मबहादुर गायकले नेपाली मौलिक गति संगित सिर्जना र संरक्षणमा जीवन नै समर्पण गरे ।
गायन, वाद्यवादन र नृत्यमा समेत पोख्त
धनबहादुर गायक सर्जकसँगै गायन, वाद्यवादन र नृत्यमा समेत पोख्त थिए । मसान, मुनामदन, रगतको सिन्दुर, मातृभूमीका व्यथा लगायतका नाटकमा धनबहादुर गायकको भुमिका देख्न सकिन्छ । त्यसैगरि सिन्दुर, सन्तान, अग्नीकुण्ड, कान्छी हे कान्छी, के घर के डेरा, फेरी भेटौँला लगायतका चलचित्रका गीतहरुमा उनका नृत्यहरु हेर्न सकिन्छ ।
धनबहादुर गायकको निधनले नेपाली संगीत क्षेत्रमा अतुलनीय क्षति पुगेको उनलाई नजिकबाट नियालेका कलाकार बताउँछन् । ‘उहाँ अजर –अमर गीतका सर्जक मात्र नभई कुशल वाद्यवादक पनि हुनुहुन्थ्यो । पोखरेली सङ्गीतका क्षेत्रमा मात्र नभई नेपालको सङ्गीत क्षेत्रको एउटा असल सङ्गीतकर्मी पनि हुनुहुन्थ्यो’ गायिका हरिदेवी कोइराला बताउँछिन्, ‘उहाँ पुर्खाको चिनोलाई जर्गेना गर्न लागिरहनुभयो । उहाँले पछिल्लो पुस्तालाई सारङ्गीको संरक्षणमा सहभागी गराउनुभयो । लोकसंस्कृति विशेष गरी सारङ्गी संरक्षणमा उहाँले पु¥याएको योगदान निकै महत्वपूर्ण छ ।’
कलासँगै मनका पनि निकै धनि थिए धनबहादुर गायक । अत्यन्तै शालीन व्यक्तित्व, मृदुभाषी र कोमल हृदयका धनबहादुरको व्यक्तित्व प्रशंसनीय रहेको उनका सहकर्मीहरु बताउँछन् ।
पोखरामा कुनैपनि सांगितिक गतिविधिमा धनबहादुरलाई नदेख्दा खल्लो अनुभव हुने बताउँछन् साहित्यकार तथा संस्कृतीकर्मी तीर्थ श्रेष्ठ । ‘उनको निधनले नेपाली मौलिक संगीतको क्षेत्रमा अतुलनीय क्षति पुगेको छ’, उनले भने, ‘ उहाँ जस्तो कर्मठ सर्जक सम्भवतः अब यस क्षेत्रमा पाउन निकै मुश्किल पर्नेछ ।’
धनबहादुरको असामयीक निधनले परिवारमा पनि निकै ठुलो पीडा आइपरेको छ । बाबुको सपनालाई साकार गर्नका लागि आफुहरु अनवरत रुपमा लागिरहने उनका छोरा दिलिप गायक बताउँछन् । धनबहादुरका दुई छोरा, एक छोरी, एक बुहारी र चार जना नातिनातिनी छन् । छोरा दिलिप गायक पनि बाबुले स्थापना गरेको पाठशालामा वाद्यवादन सिकाइरहेका छन् ।